काठमाडौँ, १५ पौष । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिथिला चित्रकलालाई हुलाक टिकटमा जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले बुधबार मिथिला कला भएका विभिन्न १७ हुलाक टिकट र अन्य १४ वटा टिकटहरू सार्वजनिक गरे ।
दिगो विकासका लक्ष्यहरूलाई स्थानीयस्तरमा पनि बुझाउन स्वदेशी कलाको प्रयोग गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आवासीय संयोजक कार्यालयले १७ वटा दिगो विकास लक्ष्यका प्रतीक चिह्नलाई स्थानीय कलाको स्वरूपमा बनाउने काम थालेको थियो ।
टिकट सार्वजनिक कार्यक्रममा कार्यवाहक संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक रोबर्ट कास्काले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू पूरा गर्न नेपालको प्रतिबद्धतालाई चित्रहरूले प्रतिबिम्बित गर्ने बताए ।




