काठमाडौं, २२ पुस । कक्षा ११ का विद्यार्थी यस वर्ष फरक किसिमको समस्या र अन्योलमा परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।
पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन ।
भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गर्नुभएको थियो ।
रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ ।

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । केही नयाँ काम त नयाँ पाठ्यक्रमले गरेको छ तर विद्यार्थी भने अन्योलमा परेका छन् । कक्षा ११ मा भर्ना आएका विद्यार्थी तिनै विद्यार्थी हुन्, जुन विद्यार्थी गएको वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने तयारी गर्दैगर्दा कोरोनाका कारण बन्दाबन्दी भएपछि आन्तरिक प्रक्रियाबाट नतिजा सार्वजनिक गरिएको थियो ।



