काठमाडौं, २१ असार । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको हो । पानी पठाइए पनि सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने बताइएको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार सुरुङमा पानी हालि सकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिनेछ । त्यसलगतै मेलम्ची खानेपानी आयोजनाको उद्घाटन हुनेछ ।
सुरुङ मार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौंदेखि रहेका आशंका र अन्याेल अन्त्य भएको बताइएको छ । आयोजानाले यसअघि नै सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सम्पन्न गरिसकेको दाबी गरेको छ । सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको हो ।

यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ । त्यसपछि पानी भरिएकै दरमा सुरुङ्ग खाली गरिन्छ । त्यसक्रममा सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार समाधान गरिनेछ । र, त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीका लागि उपलब्ध हुने आयोजनाको दाबी छ ।
सुरुङमा पानी पथान्तरण गरिएसँगै काठमाडौंबासीको दुई दशकभन्दा लामो प्रतीक्षा सम्बोधन भएको खानेपानी मन्त्रालयको दाबी छ । मन्त्रालयले भनेको छ, ‘सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी गराइन्छ ।’
बाग्मतीमा बाढीको चेतावनी
पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रका साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्नसक्ने मन्त्रालयको दाबी छ । मन्त्रालयले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।
मन्त्री मगरले भनिन् : ऐतिहासिक उपलब्धी
यसैक्रममा मेलम्ची निर्माण सम्पन्न भएको जानकारी गराउन आइतबार पत्रकार सम्मेलन गरियो । जहाँ बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन् ।
मगरले भनिन्, “मेलम्चीबारे थुप्रै आशंका थिए । आम जनतामा निराशा थियो । मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ता पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्याेलहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।”
मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मिहिनेतका साथ आयोजना सम्पन्न गर्न लागिरहेको दाबी गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिए ।




