काठमाडौँ, फागुन १ । बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट जितेको छ। उसले अहिलेसम्म २१३ सिट जितेको डेली स्टारले जनाएको छ। प्रतिनिधि सभाको ३०० सिटमध्य २९९ सिटमा चुनाव भएको थियो। एक उम्मेदवारको निधन भएपछि शेर्पुर–३ निर्वाचन क्षेत्रको मतदान स्थगित भएको थियो।
दुई तिहाईका लागि कम्तिमा २०० सिट जित्न आवश्यक रहनेमा बिएनपीले २१३ सिट ल्याउने निश्चित भएको हो।
पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान नेतृत्वको बिएनपीलाई बंगलादेशका जनताले भव्य अनुमोदन गरेको भनेर त्यहाँको सञ्चारमाध्यमहरुले लेखेका छन्।
निर्वाचन आयोगले शुक्रबार साँझसम्म औपचारिक नतिजा घोषणा गर्ने जनाएको छ। त्यसपछि बिएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री चयन हुनेछन्।
यसपालि शेख हसिनाको पार्टी अवामी लिगलाई चुनावमा प्रतिबन्ध लगाइएको थियो। हसिना २०२४ को जुलाइमा विद्यार्थीको आन्दोलन चर्किँदा प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत निर्वासन गएकी थिइन्। यसपालि अवामी लिग प्रतिस्पर्धामा नभएका कारण पनि बिएनपीले दुई तिहाई सिट जित्न सकेको भनेर विश्लेषकहरूले बताएका छन्।
अवामी लिगको अनुपस्थितिमा जमात-ए-मुस्लिम पार्टीले बिएनपीसँग प्रतिस्पर्धा गरेको थियो। जमात-ए-मुस्लिमले विद्यार्थी आन्दोलनबाट जन्मिएको पार्टी नेसनल सिटिजन्स पार्टी (एनसिपी) लगायत ११ दलसँग गठबन्धन गरेको थियो।
त्यसका बाबजुद उक्त गठबन्धनले ७६ सिट मात्रै ल्याएको बताइएको छ।



