राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

`

     २०८२ माघ २० गते २:४९

काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले आज यहाँ गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

“जापानले नेपाललाई द्विपक्षीय अनुदान र ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संशाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझै लाभान्वित हुन चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?