काठमाडौँ, २ माघ। दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।
सन् २०२४ को अन्त्यतिर उनले जारी गरेको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा उनको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।
युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उनले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानूनअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्ने प्रावधान रहेको छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।






