अविरल वर्षाले आएको पहिराले रातिदेखि डुम्रे–बेँसीशहर ​र बेँसीशहर चामे सडक पुनः अवरुद्ध

`

     २०७९ श्रावण २२ गते ९:१०

काठमाडौँ, साउन २२ । अविरल वर्षाले आएको पहिराले गए रातिदेखि डुम्रे–बेँसीशहर ​र बेँसीशहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरो र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीशहर चामे सडक अवरुद्ध भएको हो ।

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । सडक अवरुद्धका कारण बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीशहर आउने यात्रुहरु बढी मारमा परेका छन् ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले बताएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?