शैक्षिक सत्र सुरु भए पनि उदयपुरको विधालयहरुमा पाठ्यपुस्तक पुगेना

`

     २०७९ ज्येष्ठ १३ गते ११:२५

काठमाडौँ, जेठ १३ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।

नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो ।

जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आएका उनले भने, “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आएँ । तर कहीँ पाइएन । रित्तै घर फर्कँदैछु ।”

अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन् । जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ ।

पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भने, “आफूहरूले त चैतदेखि नै काठमाडौँका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई(चार हप्ता लाग्न सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?