काठमाडौँ, साउन १५ । कोरोना महामारीका बेला पढाइ छाडेर आएका विद्यार्थीलाई चीन फर्काउन शिक्षा मन्त्रालयले करिब १ हजार जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
सन् २०१६ को ब्याचपछिका विद्यार्थीलाई मात्रै फर्काउने चीन सरकारको निर्णयअनुसार शिक्षा मन्त्रालयले सूची तयार गरेको हो । सन् २०१६ र त्यसअघिका विद्यार्थीले भने स्वेदशमै इन्टर्नसिपसहितको पढाइ पूरा गर्न पाउनेछन् ।
शिक्षा मन्त्रालयका अनुसार पहिलो चरणमा सन् २०१७ र २०१८ का २ सय ८१ विद्यार्थी चीन फर्कने प्रक्रियामा छन् । मन्त्रिपरिषद् बैठकले गत पुसमा सन् २०१६ यताका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
त्यही निर्णयका आधारमा मेडिकल काउन्सिलले बाँकी रहेको पढाइ र प्रयोगात्मक अभ्यास यहीँ गर्न पाउने व्यवस्था गरेको हो । काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार २०१६ ब्याचका विद्यार्थीले १ वर्ष सैद्धान्तिक पढाइसहित २ वर्ष इन्टर्नसिप गर्नुपर्ने निर्णय भएको छ ।
यस्तै २०१५ का विद्यार्थीले डेढ वर्ष र २०१४ का विद्यार्थीले ६ महिना इन्टर्नसिप गर्नुपर्ने छ । काउन्सिलले ती विद्यार्थीलाई स्वास्थ्य मन्त्रालयले पठनपाठन र प्रयोगात्मक अभ्यासको व्यवस्था मिलाउनुपर्ने बताएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले यहीं इन्टर्नसिप गर्न चाहने विद्यार्थीका लागि सूचना प्रकाशन गरेर आवेदन मागिने जनाए । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका बेला विद्यार्थीको समस्या समाधान गर्ने सम्झौता गरिएको थियो ।



