काठमाडौँ, साउन १३ । ठाउँठाउँमा गएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि परेको पानीले पहिरो जाँदा महाकाली राजमार्गको आसिकाँडा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
महाकाली नगरपालिका–८ स्थित आसिकाँडा क्षेत्रमा राति वर्षाको भएको दिनमा दिनहुँ सडक माथिबाट ढुंगामाटोसँगै भल आउँदा नियमित रुपमा महाकाली राजमार्ग अवरुद्ध हुँदै आएको छ ।
महाकाली नगरपालिकाको डोजर लगाएर अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको स्थानीय भुवनसिंह धामीले बताए । सडक अवरुद्ध हुँदा जिल्ला भित्रिने र बाहिर सवारीसाधन आसिकाँडा र धाप क्षेत्रमा रोकिएको प्रहरीले बताएको छ ।




