दाङमा भाइरल ज्वरोका बिरामी बढेका कारण विद्यालय ४ दिनका लागि बन्द

`

     २०७९ श्रावण ११ गते ८:४९

काठमाडौँ, साउन ११ । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय ४ दिनका लागि बन्द गरिएका छन् ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौर स्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।

“दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्”, उनले भने। ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उनले बताए । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेव विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?