नयाँ आइजीका लागि चलखेल सुरु, डिएसपी र वरिष्ठ सईले गरे लाखौँ भ्रष्टाचार

`

     २०७९ भाद्र ०२ गते ९:४१

काठमाडौँ,भाद्र ०२ । नेपाल प्रहरीमा विश्वराज पोखरेलले अनिवार्य अवकाश पाएसँगै रिक्त पदमा अहिले एकल बढुवा हुन सके भावी आइजिपी पक्का हुने भन्दै दुई महिनाअघि बढुवा भएका डिआइजीहरू शक्तिकेन्द्र धाउन थालिसकेका छन् । उक्त रिक्त भएको एआइजीको एक पदमा बढुवाको लागि अस्वस्थ चलखेल भइरहेको हो । यता, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भने तत्काल एक जनाको मात्र बढुवा गर्ने पक्षमा छैनन् । मङ्सिर सम्म एआइजीका चार पद रिक्त हुने र एकै पटक बढुवा गर्ने उनको तयारी छ । मङ्सिर सम्म मुकुन्दराज आचार्य, रवीन्द्र धानुक र अरुण बिसीले अवकाश पाउँदैछन् ।

बरीयतामा अगाडि रहेका डिआइजीहरू एआइजी बढुवाकै लागि प्रदेशसमेत नगई प्रहरी प्रधान कार्यालयमै बसेका छन् । वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापालगायतले प्रदेश जान अस्वीकार गरेका हुन् । एआइजीका सशक्त दाबेदार पनि उनीहरू नै हुन् । उनीहरूमध्ये केही शक्तिको बलमा एकल बढुवाको दाउमा लागेको स्रोत बताउँछ । यसमा रुपेश पाण्डेलगायतका विवादास्पद पात्र तथा केही बिचौलियाहरू समेत सक्रिय बनेका छन् । विगतमा विश्वराज पोखरेललाई भावी आइजिपी बनाउन दरबन्दी नै थपेर एकल बढुवा गरिएको थियो । त्यो बढुवा चरम विवादमा पर्यो, अन्ततः त्यही कारण पोखरेलले एआइजीबाटै अपमानजनक रूपमा बहिर्गमन हुनुपर्यो । ब्याचमा एकल बढुवा गर्ने त्यो गलत नजिरलाई दोहोर्याउने पक्षमा आइजिपी छैनन् ।

दुई डिआइजीबिच टक्कर भएपछि सरकारले गुप्तचरमा एआइजीको एक दरबन्दी थपेर हुतराज थापा र ओम जोशीलाई गत बिहीबार बढुवा गरेको छ । भदौमा मुकुन्द आचार्यले पनि अवकाश पाउने भएकाले त्यसपछि दुई जनाको बढुवा हुने सम्भावना पनि छ । बालुवाटारमा भइरहेको आर्थिक चलखेलले चमत्कार नहोला भन्न सकिन्न । ‘त्यो अवस्थामा गुप्तचरमा जस्तै एउटा दरबन्दी फेरि थपेर दुई जनाको बढुवा नहोला भन्न सकिन्न,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

मंसिरको निर्वाचनपछि नयाँ राजनीतिक समीकरण बन्न सक्ने र त्यो अवस्थामा आफु अनुकूल सरकारसमेत नरहन सक्ने भएकाले डिआइजीहरू अहिले नै दौडधुपमा लागेका हुन् । बालुवाटारका बिचौलियाहरूले एआइजीको पद लिलामीमा राखेर बार्गेनिङ गरिरहेको स्रोत बताउँछ । हुन त कात्तिकसम्म नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनको नम्बर दिने समय हुन्छ । त्यसपछि मात्र बढुवा प्रक्रिया सुरु हुन्छ । तर, त्यो काम छिटो सकाएर पनि बढुवा गरिएका नजिर छन् । नेपाल प्रहरीमा एसएसपीका दुई दरबन्दी पनि थप्ने प्रक्रिया अघि बढेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र प्रहरी प्रधान कार्यालयमा एसएसपीका १–१ दरबन्दी थप हुन लागेको हो ।

त्यस्तै, बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका ‘घुमुवा नाइके’ वरिष्ठ सई विजय शाही मिलेर एक कुरियर संचालकसँग लाखौँ रुपैयाँ ‘घुस’ लिएका छन् । केही समय रुपन्देहीको कार्यवाहक प्रहरी प्रमुख भएका डिएसपी केसीले घुमुवा शाहीसँग मिलेर तीन लाख रुपैयाँ घुस लिएका हुन् । घटना करिब डेढ हप्ता अघिको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुमुवा नाइके बरिष्ठ सई शाहीले कार्यवाहक जिल्ला प्रहरी प्रमुखको जिम्मा सम्हाल्दै आएका डिएसपी केसीलाई एउटा सूचना दिए– ‘भैरहवास्थित सिद्धार्थनगर–१२, आवारोडको एउटा कुरियरले लाखौँको अवैध कपडा पार्सल गरेर पठाउँदैछ ।’ शाहीको जानकारीपछि जिल्लाबाट प्रहरी टोली छापा हान्न बुद्ध कुरियर एण्ड कार्गो सर्भिस प्रालिमा पुग्यो । प्रहरीले सोधखोज ग¥यो र केही कपडा बरामद ग¥यो । त्यसपछि गोदाममा छापा हान्न डिएसपी केसीले निर्देशन दिए । त्यतिन्जेल संचालक कुरियर अफिसबाट बाहिर गइसकेका थिए । रातभर गोदाममा छापा हान्ने भनेर प्रहरी खटिएको थियो । तर, छापा नै नहानी फर्किएको स्रोतले बताएको छ । उक्त घटनापछि रातभर कुरियरको गोदाम कुरेर ड्यूटीमा खटिएका तल्लो तहका प्रहरी नै अचम्मित भएका थिए । एक प्रहरी भन्छन्, ‘रातभरमै कुरियर संचालकले सेटिङ गरेर होला, भोलिपल्ट डिएसपी साबले छापा नहान्ने निर्णय गरेको ।’

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख समेत रहेका डिएसपी केसीले रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मी कानको समस्या भएपछि उपचारका लागि काठमाडौँ गएका बेला जिल्ला प्रहरीको नेतृत्व सम्हालेका थिए । जिल्लामा सरुवा भएर आएका डिएसपी श्यामु अर्याल अझै कार्यालयमा हाजिर भएका छैनन् । जिल्ला कार्यालयमा डिएसपी नभएपछि कार्यवाहक प्रहरी प्रमुखको जिम्मा केसीलाई दिइएको थियो । डिएसपी केसी र शाहीले तीन लाख रुपैयाँ घुस लिएको घटना केही प्रहरी अधिकृतले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायलाई पनि जानकारी गराइसकेका छन् । तर, यसबारे छानबिन भएको छैन । स्रोतका अनुसार डीआईसँग डिएसपी केसी र शाहीले प्रहरीलाई बदनाम गराउनका लागि झुटा आरोप लगाइएको भन्दै ढाटेका थिए ।

डिआइजी उपाध्याय र एसपी रेग्मीलाई गुमराहमा राखेर केसी र शाहीले तीन लाख रुपैयाँ बुझेका हुन् । कुरियर संचालकले प्रहरीले आफूलाई ‘क्रेट’ गरेर तीन लाख रुपैयाँ घुस लिएको भन्दै आफू निकटस्थसँग दुखेसो पोख्दै आएका छन् ।
घुस दिएको रेकर्ड पब्लिकको हातमा पुगेको थाहा पाएपछि प्रहरीले कुरियर संचालकलाई बोलाएर चेतावनीसमेत दिएको बताइएको छ । आफूलाई प्रहरीबाट चेतावनी भएको भन्दै कुरयिर संचालकले साथीभाइलाई सहयोगको आग्रह गर्दै आएका छन् । डिएसपी केसी र शाहीले भने आफूहरूले घुस नलिएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?