काठमाडौंबाट धमाधम उठाउन थालियो फोहोरको थुप्रो

`

     २०७९ श्रावण २९ गते ८:४१

काठमाडौं,श्रावण २९ । सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले हिजो शनिबारबाट राजधानीको फोहोर उठाउन शुरू गरेको छ । गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेसिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो । लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएका सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरू गरेको हो ।

कामनपा वातावरण व्यवस्थापन विभागका ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १ सय ४३ ट्रिप फोहोर ल्यान्डफिल साइटमा विसर्जन गरेको जानकारी दिनुभयो । स्थानीय अवरोधका कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राति फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

अहिले कामपाले क्षतिपूर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपूर्ति असुल्ने कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले जनाएपछि फोहोर व्यवस्थापन चालु भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘हिजो १ सय ४३ ट्रिप व्यवस्थापन गरेका छौं, आजबाट नियमित लैजानेछौं । सडकमा रोकिराखेका, बाटोमा थुप्रिएको फोहोर व्यवस्थापन शुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?