February 14, 20 10:26 am
इक्यान के हो?
इक्यान (एजुकेशनल कन्सल्टेन्सी असोसिएसन, नेपाल/नेपाल शैक्षिक परामर्श संघ) ४८० भन्दा बढी नेपालका व्यवसायिक कन्सल्टेन्सीहरू आबद्घ संस्था हो । आजभन्दा चौबीस वर्ष अघि नेपाली विद्यार्थी र अभिभावकलाई व्यवसायिक मर्यादामार्फत सेवा प्रदान गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको थियो । नेपाली विद्यार्थीहरूको मौलिक शैक्षिक हक अन्तराष्ट्रिय स्तरमा व्यवस्थित गर्न इक्यानले सक्रियताका साथ काम गरिरहेका छ ।
शैक्षिक परामर्श क्षेत्रमा हुने गरेका व्यवसायिक अपराधलाई कसरी कम गर्नुभएको छ?
यस सम्बन्धमा हामीले २०६३ मै आचारसंहिता ल्याएर स्पष्ट भनेका छौँ कि कुनै पनि कन्सल्टेन्सीले अभिभावक र विद्यार्थीले दुःख पाउने कुनैपनि गतिविधि गर्न पाइने छैन ।
तपाईँहरूले गर्दै आउनु भएको कामलाई एक वाक्यमा बुझाउनोस् न ।
हामीले ग्लोबल्ली कम्पेटेन्ट विद्यार्थी उत्पादन गरिरहेका छौँ ।
तपाईँहरूले ब्रेन गेन गराउनु भएको विद्यार्थीलाई राज्यले कतिको गेन गरिरहेको छ नि?
अत्यन्त सान्दर्भिक प्रश्न गर्नुभयो । राज्यले एकेडेमिक माइन्डलाई प्रचुर सम्भावना निर्माण मार्फत सम्मान गर्ने मेकानिज्म निर्माण गरेको दिन यो उत्साहजनक रूपले बढ्छ र अहिले पनि २५% विद्यार्थी राम्रो देशबाट पनि फर्कने गरेका छन् ।
नेपालको शैक्षिक प्रणाली विदेशीबाट गाइडेड छ र उतैबाट आयातित छ जुन यहाँको माटो सुहाउँदो छैन भनिन्छ, यसमा तपाईँहरूको केही अब्जरभेसन छ?
पक्कै, हाम्रो शैक्षिक प्राणाली कोलोनियल माइण्ड सेटबाट गाइडेड छ । यसले गर्दा हाम्रो समाज विश्वस्तरमा उठ्न कहिल्यै सक्दैन । मैले यसबारे अन्तराष्ट्रिय फोरममा समेत कुरा उठाउँदै आएको छु । हाम्रो शैक्षिक पद्घति प्याथेटिक छ, दयनीय छ । यो अत्यन्त पराम्परागत छ, समय सुहाउँदो छैन । अबको शैक्षिक प्रणाली इन्टरडिसिप्लनरी हुनुपर्छ ।
इन्टरडिसिप्लनरी शिक्षा भन्नाले?
यो भनेको शिक्षा समय सुहाउँदो गतिशील हुनुपर्छ भनेको हो । हाम्रो समाज एकातिर द्रुतत्तर गतिमा गइरहेको छ, हाम्रो शिक्षा प्रणाली बासी कुरा भट्टाएर बसिरहेको छ । शिक्षाले समाज निर्देशित गर्नुपर्ने हो, तर यो आफैँ भड्किरहेको छ ।
विद्यार्थीको मोबिलिटीको ट्रेण्डलाई कसरी जस्टिफाइ गर्नुहुन्छ जब कि विदेशको शिक्षा त्यहीको माटो सुहाउँदो बनाएको हुन्छ, नेपालमा त्यसको के काम भन्ने गरिएको छ?
होइन नि, तपाईँ त्यहाँ गएर त्यहाँको विकासको मोडल सिकेर आउनोस् न अनि त्यसलाई चाहिँ यहाँको माटो सुहाउँदो प्रयोग गर्नुस् । हामीले आफूले पनि अग्रगति निर्माण नगर्ने अनि अरूको राम्रो कुरा पनि नसिक्ने हो भने कसरी प्रगति होला र ?
जहाँसम्म शैक्षिक मोबिलिटीको ट्रेन्डको कुरा छ, हामीलाई विश्वबाट सबैभन्दा बढी पढ्न जाने देश अमेरिका भनेर मात्र थाहा छ, तर कुन देशबाट सबैभन्दा बढी विद्यार्थी बाहिर पढ्न जान्छन् भन्दा त्यो पनि अमेरिका नै हो । घरेलु र बैदेशिक शिक्षा दुबै अवस्थामा हामी अपडेट हुन जरुरी छ, त्यो एउटा विकासको इन्डिकेटर हो ।
कतिपय धनी देशहरूको विकासको पृष्ठभूमि हेर्दा सय वर्षमा ती देशले विकासको चरम अवस्था पार गरेको देखिन्छ । हाम्रो चाहिँ दुई हजार वर्षमा पनि शरमकै अवस्था छ । यसमा शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने तर गरेको देखिँदैन भन्ने छ, तपाईँको विचारमा शिक्षाले यस मामलामा के गर्नुपर्ला?
नेपालमा शिक्षामा बजेट शिक्षकलाई तलब कतिले पुग्ला भनेर सात पल्ट सोचेर अलोकेट गर्ने गरिन्छ । यहाँको हावापानी, समय सुहाउँदो अध्ययन, अनुसन्धानमा आधारित भई अघि बढाउने शिक्षाको विकासको लागि पर्याप्त बजेट छुट्याउन शुरू गर्नुपर्छ तब शिक्षामा रूपान्तरण सम्भव हुन्छ र परिवर्तित शिक्षाले मात्र समाज रूपान्तरण गर्न सक्छ ।
भनेपछि शिक्षाको पद्घति बदल्न शासन प्राणलीकै भूमिका महत्वपूर्ण छ?
अवश्य, राज्यले शिक्षाको महत्व खासै बुझेको देखिँदैन व्यवहारतः । शिक्षाको महत्व गहिरो रूपमा बुझिएको दिन यहाँ राजनीतिक नियुक्ति कम हुन थाल्छ, त्यसपछि योग्य मान्छेहरू अगाडी आउन थाल्छन् तब शिक्षाको विकास हुन समय लाग्दैन ।
विद्यार्थीलाई काउन्सेलिङ बाहेकका सेवा सुविधा पनि उपलब्ध गराउने गर्नुभएको छ?
अवश्य पनि । नेपालका जेहेन्दार, आर्थिक रूपमा विपन्न लगायत अण्डर प्रिभिलेज्ड विद्यार्थीहरूलाई छात्रबृत्ति उपलब्ध गराउँदै आएका छौँ ।
कति प्रतिशत सम्म स्कलरसिप उपलब्ध गराउनुभएको छ नि?
सय प्रतिशत सम्म पनि उपलब्ध गराउँछौँ । म अर्बिटको सञ्चालकको हैसितले व्यक्तिगत रूपले मात्रै पनि सयौँ विद्यार्थीलाई प्रदान गरिसकेँ अब पुरै इक्यानका सदस्य संस्थाहरूले गरेको सहयोग त स्वभाविक रूपमा धेरै हुने नै भयो ।
इक्यानले गरेको विद्यार्थी सम्बद्घ एउटा महत्वपूर्ण समस्या समाधानको उदाहरण दिन सक्नुहुन्छ?
अस्ट्रेलियामा एआइबीटी (अस्ट्रेलियन इन्टिच्युट अफ् बिजिनेस टेक्नोलोजी) कलेजको सम्बन्धन त्यहाँको रेगुलेटरी बडीले खारेज गरेको थियो । त्यहाँ हजार भन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेका थिए । त्यसमा हामीले पूर्ण समन्वयात्मक भूमिकामा खेल्यौँ । अन्ततोगत्वा एआइबीटीले मुद्दा जित्यो र समस्या समाधान भयो ।
इक्यानको औचित्य कहिलेसम्म रहला?
अबको विश्व निर्विकल्प ग्लोबल फेमिली हो । यो अवस्था रहेसम्म यसको औचित्य पुष्टि भइरहन्छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ?
म हाम्रो संस्थाका अध्यक्ष प्रकाश पाण्डेज्यू लगायत अन्य सदस्यहरू बिचको अर्थपूर्ण भिजनरी छलफल र समन्वयबाट इक्यानको गरिमालाई सदा उँचो राखी राख्न लागि पर्नेछु ।