काठमाडौं, बैशाख २४ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ । विभिन्न जिल्लाका महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।
सर्लाहीमा सुरक्षाका लागि नेपाली सेनाले यहाँका सडक तथा बजारमा गस्ती बढाएको छ। जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए । उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस्त्र प्रहरी दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने निर्णय भए बमोजिम सेना गस्तीमा निस्केको हो । देशभरमै सबैभन्दा धेरै २० स्थानीय तह रहेको जिल्लामा ५९९ मतदानस्थल रहेका छन् । तीमध्ये सुरक्षाका दृष्टिकोणले १०३ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए । उनका अनुसार ती मतदानस्थलमा २०५ मतदान केन्द्र छन् । जिल्लामा १८४ मतदानस्थल संवेदनशील छन् । ती मतदानस्थलमा ३३९ मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए ।
जिल्लामा प्रमुख सेनानी कार्कीको नेतृत्वमा सेनाको गण परिचालन गरिएको छ भने वाग्मतीको कर्मैया र जिल्ला सदरमुकाम मलङ्गवामा पनि सेनानी(मेजर)को कमाण्डमा नेपाली सेना परिचालन भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।सुरक्षा निकायले जिल्लाको ३१ मतदानस्थललाई सामान्य सूचीमा राखेको छ । ती मतदानस्थलमा ५५ मतदान केन्द्र रहेका छन् ।
उता चितवनका महत्वपूर्ण क्षेत्रहरुमा पनि नेपाली सेनाले सुरक्षा गर्ने जिम्मा लिएको छ। स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उहाँले बताउनुभयो ।
निर्वाचनको समयमा प्रहरीमा पर्याप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “यी दुई क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिनेछ ।” हरेक निर्वाचनमा महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ ।
अहिले मतदानस्थलको सुरक्षाको निर्वाचन सुरक्षा योजनाअनुसार अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ । मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका कामसमेत भइरहेको उहाँको भनाइ छ ।