काठमाडौं, माघ २२ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।
१८औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कम्पनीको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए ।
मन्त्री कार्कीले देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्याई देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो,छरितो र प्रविधिमैंत्री सेवा पुर्याउन निर्देशन दिएका छन् । फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु कार्कीले भने ।
नेपाल दूर सञ्चार प्राधिकरणबाट फाइभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भईसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन मन्त्री कार्कीले आग्रह गर्नुभयो ।