हाम्रो प्रधानमन्त्रीसँग मुटु नै छैन : गगन थापा

  • Avatar
    admin

    October 16, 20 8:26 am

  • Comments

काठमाडाैं, ३० असाेज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुटु नै नभएकाे बताएका छन् । कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका नेता थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियाे सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्रीसँग मुटु नभएकाे बताएका हुन् ।

Advertisement

कोरोनाका कारण सबैक्षेत्र प्रभावित हुँदा पनि कुनै पनि कुरामा प्रधानमन्त्रीलाई नछाेएकाे भन्दै उनले भनेका छन्- ‘अब हामीले भन्नु नै पर्छ । हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन । हाम्रो प्रधानमन्त्रीसँग मन छैन । प्रधानमन्त्रीसँग मुटु नै रहेनछ । यतिका कुरा हुँदै गर्दा दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने । छुँदा पनि नछुने । भनेपछि प्रधानमन्त्रीसँग मुटु छैन ।’

काेराेना कहरले जनतालाई पोलेको कुरालाई प्रधानमन्त्री ओलीले प्रथामिकता नदिएकाे सांसद थापाले बताएका छन् । ‘प्रधानमन्त्रीको पहिलो प्राथमिकता प्रचण्डसँगको भेटघाटमा छ । पार्टीभित्रको झगडा, लुम्बिनी प्रदेश राजधानीमा आफ्नै दलका दुई नेता मिलाउने प्राथमिकता छ । प्रधानमन्त्रीको अहिलेको प्राथमिकता कर्णालीको झगडा मिलाउने छ । त्यसपछि मन्त्रिमण्डल पुनर्गठनले एकथरि नेताहरु रिसाउने भएपछि फकाउने र ढाल्नेभन्दा अरू ध्यान छैन,’ उनले भनेका छन् ।

advertisement

सांसद थापाले आफूलाई ९ औं / १० औं दिनमा ज्वरो खोकीलगायतका काेराेनाका लक्षणसमेत देखिएकाे जानकारी दिएका छन् । कोरोनाको अर्को परीक्षण कुरिरहेको र केही दिनमै संक्रमणबाट मुक्त आशा पनि व्यक्त गरेका छन् । उनले भने- ‘मसहित बुबा, आमा, श्रीमती, छोरीलगायत नौं जना घरमा आइसोलसेनमा छौँ । शुभेच्छा र आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई गाह्रो भएको छैन । आशा छ, केही दिनभित्रै हामी संक्रमणबाट मुक्त हुनेछौँ ।’

काेराेनाका कारणले सर्वसाधरण कंगाल बनेर सडकमा आइपुग्दासमेत प्रधानमन्त्री ध्यान नदिएकाे उनकाे गुनासाे छ । ‘कोरोनाका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएका छन् । त्यहाँभित्र पनि नन-कोभिड । संक्रमण नभएको तर अन्य रोगको उपचार नपाएर अस्तव्यस्त भएको छ । अर्कोतिर, आर्थिक क्षेत्र तहसनहस भएको छ। हजारौं मान्छेहरु बेरोजगार भएका छन् ,’ उनले भिडियाेमर्फत भनेका छन्, ‘स्वरोजगार भएका व्यक्तिको जीवन अस्तव्यस्त बनेको छ । कंगाल बनेका छन्,सडकमा आइपुगेका छन् । यस्तो बेलामा यी कुनै पनि कुरामा प्रधानमन्त्रीले ध्यान दिएको पाइएन ।’

स्वास्थ्य मन्त्रालयकाे बेताल

सांसद थापाले स्वास्थ्य मन्त्रालय बेताल भएकाे बताएका छन् । सर्वसाधरण उपचारका लागि काठमाडौं आउदा पनि उपचार नपाएकाे उनले बताए । ‘स्वास्थ्यको जिम्मा लिएको स्वास्थ्य मन्त्रालय बेताल छ । सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएकाे छ,’ उनले भनेका छन्, ‘गरिब गुरुवा उपचारका लागि काठमाडौं उपचार गर्न आउँछन्,उनीहरु कहाँ गएर उपचार गर्ने ? उनीहरुले उपचार कहाँ गर्ने ?’

सांसद थापाले काठमाडौं उपत्यकाभित्रकाे मेडिकल कलेजहरुमा कोभिड अस्पताल बनाउन सकिने बताएका छन् । ‘नेपाल मेडिकल, किस्ट मेडिकल कलेज छन् । मेडिकल कलेजहरुलाई लिन सकिन्छ। तिनिहरुमा सयौं बेड छन् । २५ सयदेखि तीन हजार बेड क्षमताको कोभिड अस्पताल बनाउन सकिन्छ । एउटा रोष्टर बनाएर गर्‍यो भने त्यहाँभित्र क्रिटीकल केसहरु हेर्न पनि सकिन्छ। त्योभन्दा बाहिर गर्ने कार्य काठमाडौंमा १५ हजार क्षमतासम्मको आइसोलेसन बनाउन सकिन्छ,’ सार्वजनिक भिडियाेमा उनले भनेका छन् ।

काेराेनाविरूद्ध स्थानीय र प्रदेश सरकारको समन्वय गरेर प्रभावकारी प्रणाली बनाउन सकिने सुझाव पनि दिएका छन् । ‘समय त धेरै घर्किएको छ । तर, गर्न सकिने समय अहिले पनि छ । स्रोत र साधन हामीसँग छ । स्थानीय र प्रदेश सरकारको समन्वय गरेर प्रभावकारी प्रणाली बनाउ सकिन्छ,’ उनले भने, ‘ सबै नागरिक यो बेला सरकारलाई मद्धत गर्न चाहिरहेका छन् । कोभिड नियन्त्रणका लागि सरकारले गरेका कदम असफल होस् भन्ने को चाहन्छ ? हामी सबै मान्छे हौं नि । सरकारको सफलतासँग प्रत्येका परिवार जोडिएको छ । राजनीतिक पूर्वाग्रहले हेरिए पनि यो बेला कोभिड नियन्त्रणमा सरकार सफल होस् नै भन्ने सबैको चाहना हुन्छ ।’