काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनले विद्यालयमा आइतबारसमेत बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग राखेको छ ।
नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले शनिबार विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।
आफूहरुसँग परामर्श नगरी एकपक्षीय रुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग विज्ञप्तिमा बताइएको हो ।