स्नातक तहको शैक्षिक सत्र खेर नजाने

  • Avatar
    admin

    November 19, 20 2:25 am

  • Comments

काठमाडौँ, ४ मसिर  । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ ।

Advertisement

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।

advertisement

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ । यो खबर आजको गोरखापत्रमा छ ।