‘साहित्य तथा अनुसन्धान केन्द्र’ उद्घाटन कार्यक्रम सम्पन्न

  • Avatar
    admin

    March 8, 21 7:23 pm

  • Comments

 

Advertisement

काठमाडौँ, २४ फाल्गुन । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, प्राज्ञ तथा प्राध्यापक जगत प्रसाद उपाध्याय, ‘प्रेक्षित’ को प्रमुख आतिथ्यतामा ‘साहित्य तथा अनुसन्धान केन्द्र २०७७’ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नारी दिवसको उपलक्ष्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा विशिष्ट वक्ता, प्राज्ञ तथा प्रा. डा. ज्ञानु पाण्डेले, वि. सं. २०११ पछिको औपन्यासिक महिला पात्रको बारेमा सटिक समालोचकीय मन्तव्य प्रस्तुत गर्नु भएको थियो । वहाँले सुन्दर समाज निर्माणका लागि महिला र पुरुषबिच भेदभाव रहित सम्बन्ध महत्त्वपूर्ण रहेको औँल्याउँदै महिला हिंसाको मात्रै होइन कि पुरुष हिंसाको पनि अध्ययन, विश्लेषण हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

बुनपा – १० का वडाध्यक्ष तथा वुनपा प्रवक्ता नवराज भटराईले विकसित देशहरूले अनुसन्धानमा अत्यधिक लगानी गर्ने गरेकाले ती देश उन्नत रहेको बताउँदै हाम्रो देश निर्माणको लागि अनुसन्धानको मेरुदण्डीय महत्त्व रहेको प्रभावकारी विचार व्यक्त गर्नु भयो ।

त्यसै गरी विशिष्ट वक्ता, साहित्यकार, समालोचक तथा प्रा. डा. रमेश भटराईले हाम्रो देशको शिक्षामा अनुसन्धान पद्धतिको प्रभावकारी प्रयोग अति आवश्यक भएको विचार व्यक्त गर्दै नर्सरी देखिकै शिक्षामा बालबालिकाको तह सुहाउँदो अनुसन्धान विधि अपनाएर शिक्षा शिक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रसिक सम्यकले विकसित देशहरूले विकास निर्माणको योजना अनुसन्धान बाट सुरु गर्ने र ती देशहरूलाई युनिभर्सिटी र अनुसन्धान केन्द्रहरूले सञ्चालन गर्ने बताउँदै हाम्रो देशमा भने राज्य र अनुसन्धान बिच कुनै तादम्यता नरहेको र त्यो तादम्यता निर्माण गर्ने दिशामा ‘साहित्य तथा अनुसन्धान केन्द्र’ले भूमिका निर्वाह गर्ने बताउनु भयो । संस्थाको समग्र कार्यक्रम र उद्देश्यको बारेमा बोल्दै सभाध्यक्षले समाज अघि बढाउन नवीन विचार प्रवर्धनको आवश्यकता रहेको भन्दै संस्थाले वर्षमा कम्तीमा एउटा साहित्यिक कृति, एउटा अनुसन्धान सम्बद्ध जर्नल र कम्तीमा एउटा राष्ट्रिय/अन्तर्राष्ट्रिय कन्फरन्स सञ्चालन गर्दै जाने बताउनु भयो ।

कार्यक्रम कपन एकता बस्ती स्थित ह्याप्पी किड्स स्कुलमा आयोजना गरिएको थियो ।

कार्यक्रममा विभिन्न श्रष्टाका निकै राम्रा कविता तथा गीत प्रस्तुत गरिएका थिए ।

उद्घाटन कार्यक्रम संस्थाका महासचिव सुधा मैनालीको कुशल संयोजकत्वमा सम्पन्न भएको थियो ।

संस्थाका पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छः

  1. रसिक सम्यक (अध्यक्ष)
  2. तेज कुमारी लामिछाने (उपाध्यक्ष)
  3. पूर्ण हाङ संयोक लिम्बु (उपाध्यक्ष)
  4. सुधा मैनाली (महासचिव)
  5. विष्णु प्रसाद पन्त (कोषाध्यक्ष)
  6. मानव प्रजापति (सदस्य सचिव)
  7. डा. जयन्ती रुपाखेती (सदस्य)
  8. यशोदा मैनाली (सदस्य)
  9. ज्ञान सिं मगर (सदस्य)
  10. सञ्जय श्रेष्ठ (सदस्य)
  11. प्रकाश सिङ्गक (सदस्य)