काठमाडौँ, चैत्र १ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनले तीनै तहको सरकारले मुलुकमा नयाँ आविष्कारका लागि पुँजीगत बजेटको १ प्रतिशत हिस्सा छुट्याउनुपर्ने माग गरेका छन् ।
नेपाल योङ्ग आन्टरप्रेनर्स फोरम वीरगन्ज च्याप्टरले मंगलबार वीरगन्जमा आयोजना गरेको पुनसँग विद्यार्थीहरूको साक्षात्कार कार्यक्रममा उनले भने, ‘मुलुकका तीनवटै तहका सरकारले नयाँ नयाँ आविष्कार कार्यका लागि आफ्नो पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत हिस्सा छुट्याउनुपर्छ‚’ उनले भने, ‘नयाँ नयाँ आविष्कारले रोजगारी र उद्यमशीलता सिर्जना गर्छ । सरकार बलियो भए मात्र देश बलियो हुन्छ ।’
आफूले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुअघि ४ वर्षसम्म विभिन्न नेता, अर्थशास्त्री, योजनाविद्हरूलाई आफ्नो सोच बताएको तर कसैले गम्भीरताका नलिएपछि आफ्नै प्रयासमा आविष्कार केन्द्र स्थापना गरेको उनले बताए ।
युवा विद्यार्थीहरूलाई रोजगारी सिर्जना गर्न ‘आविष्कार र इनोभेसन’मा लाग्न प्रेरित गर्दै उनले रोजगारी सरकारले नभई उद्योगले दिने भएकाले उद्यमशीलता सबैभन्दा जरुरी रहेको बताए । ‘उद्यमी बनाउन आविष्कार र इनोभेसन नभई नहुने कुरो रहेछ‚’ उनले भने, ‘मैले अमेरिकाबाट फर्केर स्वदेशमा २० वर्ष बिताएपछि मात्र यो कुरो बुझेको हुँ ।’
युवा विद्यार्थीहरूलाई आविष्कार र उद्यमशीलताका लागि हरसम्भव प्रयत्न गर्न उत्प्रेरित गर्दै उनले भने, ‘आविष्कार र उद्यमशीलता गर्न कहिल्यै नचुक्नु, समय लाग्ला, एकपटक हार भए अर्को पटक सफलता अवश्य मिल्नेछ ।’