राष्ट्र बैङ्कले आज मौद्रिक नीति सार्वजनिक गर्दै

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २९ साउन । राष्ट्र बैङ्कले आर्थिक वृद्धिलाई सघाउने गरी आर्थिक वर्ष २०७८र७९ का लागि मौद्रिक नीति ल्याउने भएको छ। राष्ट्र बैंकले विगतमा साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको भएपनि अर्थमन्त्री परिवर्तन र त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो।

Advertisement

सार्वजनिक हुने मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष्ट्र बैङ्कको सञ्चालक समिति बैठक बसिरहेको छ । सञ्चालक समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक हुनेछ ।

विश्वव्यापी महामारी कोभिड १९ का कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको छ। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अङ्कले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ भनेर हेर्न जरुरी रहेको बताउँछन्। ‘विशेष गरेर आर्थिक वृद्धिको लक्ष्य, मुद्रास्फीति (मूल्यवृद्धि) कति तय गर्छ भनेर ध्यान दिनुपर्छ’, सहप्रवक्ता पोखरेल भन्छन्, ‘साथै सरकारले आन्तरिक ऋणको तोकेको लक्ष्य घटाउने भनेको सुनिएको छ। यी कुराले मौद्रिक नीतिमा फरक पार्ने भएकाले कुर्नु परेको हो।’

कोभिडका कारण गत वैशाख, जेठ र असारमा अधिकांश व्यवसाय बन्द भएका छन्। यसअघि असोजतिर अर्थतन्त्र चलायमान हुने क्रममा रहे पनि स्थिति भयावह थियो। त्यसपछि मुलुक पुरानै लयमा फर्किन्छ कि भन्ने आशामा रहेकै बेला निषेधाज्ञाले तीन महिना अधिकांश व्यवसाय बन्द भएका हुन्।

उक्त अवधिमा लिएका कर्जाको ब्याज तथा साँवा भुक्तानी गर्न समस्या परेको व्यवसायी बताउँछन्। साथै एलसी (प्रतितपत्र) मार्फत आयात गरिएका सामानको बिक्री गरेर भुक्तानी गर्ने सम्भावना कम रहेको उनीहरुको भनाइ छ।

गत आवमा कोरोना प्रभावित उद्योग/व्यवसायलाई कर्जाको ब्याज, किस्ता तथा साँवा भुक्तानीमा सहजीकरण गरिएको थियो। यसपटक पनि व्यवसायी यस्तै चाहन्छन्। सामान्यतः समयसीमाभित्र ब्याज तथा साँवा भुक्तानी नगरे जरिवाना लिइन्छ। त्यसपछि मूल्यांकनका आधारमा डिफल्ट भए सूक्ष्म निगरानी (वाच लिस्ट)मा राखेर कालोसूचीसम्म राखी धितो लिलामी प्रक्रियामा बैंक जाने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?