मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

  • Avatar
    admin

    April 6, 21 9:10 am

  • Comments

सिन्धुपाल्चोक, २४ चैत। ‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

Advertisement

सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुने भएको छ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो।

खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको नगरउपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

प्रतियोगितामा पहिलो हुने टिमलाई रु १ लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए। त्यसैगरी दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५/२५ हजार पुरस्कार रहेको छ।

सहभागी खेलाडीलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिए खेलाडीका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ।