November 26, 20 10:26 am
काठमाडौँ, ११ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिने बाहेक नेपालको कुनै स्वार्थ नभएको बताएका छन्।
मन्त्री ज्ञवालीले विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल सम्बन्ध विकास गर्दै आर्थिक विकासबाट लाभ लिने बाहेक नेपालको अरु कुनै स्वार्थ नहुने बताएका हुन्।
संसदीय सुनुवाई समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिका रुपमा सहभागी भएका मन्त्री ज्ञवालीले भारतबाट विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा उठेका प्रश्नको जवाफ दिँदै नेपालको परराष्ट्र नीति सधैँ सन्तुलित नै हुने बताए।
यही साता छिमेकी मुलुकबाट हुने उच्चस्तरिय भ्रमणमा पनि नेपाल चीन र भारतलाई मिलेर अगाडि बढ्न चाहन्छ भन्ने भन्ने सुझाव दिने उनले बताए।
भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला बिहीबार बिहान चाटर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
भेटवार्तामा द्विदेशीय राजनीतिक नक्सा र सीमांकनको विषयलाई प्राथमिकतामा राखेर वार्ता हुने बताइएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन्। नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो।
भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ। रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
बैठकमा प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताको विषयमा छलफल गर्न बोलाइएको थियो।