भारतमा २४ घण्टामा थप ३ लाख ५० हजारमा कोरोना सङ्क्रमण पुष्टि

  • Avatar
    admin

    April 25, 21 7:02 am

  • Comments

एजेन्सी, १२ वैशाख। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ६ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा २ हजार ७ सय ६७ कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।

Advertisement

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ६९ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख ९२ हजार ३ सय ११ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २६ लाख ८२ हजार नाघेको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी ६७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा नयाँ संक्रमितको संख्या ३७ हजारभन्दा बढी छ भने कर्नाटकमा नयाँ संक्रमितको संख्या २९ हजारभन्दा बढी देखिएको छ ।

भारतमा अहिलेसम्म १४ करोड ९ लाख डोज कोरोनाविरुद्धको खोप मानिसलाई दिइसकिएको जनाएको छ । भारतका केही राज्यहरुले कोरोनाको बढ्दो संक्रमणलाई मध्‍यनजर गर्दै लकडाउन वा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाएका छन् ।

भारतमा कोरोना संक्रमण बढिरहेको अवस्थामा अमेरिकाले पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएको छ । अमेरिकाले आफ्ना सबै नागरिकहरुलाई खोप पूरा नदिँदासम्म कोरोना खोप निर्यातमा लगाइएको प्रतिबन्ध जारी रहने भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।