January 20, 21 11:03 am
काठमाडौँ, ७ माघ। विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेका छन्। मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गरेका हुन्।
लगातार तेस्रो जितपछि समूह ए मा ६ अंक जोडेको आर्मी सेमिफाइनल नजिक छ । प्रदेश १ को भने यो लगातार तेस्रो हार हो । आर्मीले समूहको अन्तिम खेल एपीएफसँग खेल्नेछ ।
प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९.५ खोभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै भिम सार्कीले २९ र लोकश बमले १३ रन बनाए । राजेश पुलामीले अविजित २४ रन बनाए ।
प्रदेश–१ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए ।
शहाब आलम र आकाश चन्दले उत्कृष्ट बलिङ गरेपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाई १३१ रनमै अलआउट गरेको छ ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश एक ले ४०.१ अभरमा सबै विकेट गुमाएर १३१ रन बनाएको हो ।
प्रदेश–१ का लागि विवेक मेहेताले अर्धशतक बनाए । उनले ८३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ र दिपेश कँडेलले ११ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
प्रदेश एकलाई अलआउट गर्न बलिङतर्फ आर्मीका लागि शाहव आलमले सर्वाधिक ४ विकेट लिए । ९.१ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चे ।
यस्तै आकाश चन्दले ७ ओभरमा ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए । सुशन भारी, भिम सार्की र राजेश पुलामीले समान १ विकेट लिए ।