प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले भन्यो: प्रधानमन्त्री ओली र जी-न्यूजले माफी माग्नुपर्छ

  • Avatar
    admin

    January 13, 21 10:08 am

  • Comments

काठमाडाैं, २९ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले सगरमाथामाथि आधारहीन ढंगले दाबी पेश गरेकोले भारतीय टिभी च्यानल जी-न्यूजले माफी माग्नुपर्ने बताएको छ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी-न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि आधारहीन ढंगले दाबी पेश गरेकोले माफी माग्नुपर्ने अनेरास्ववियूले माग गरेको छ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति निकालेर जी-न्यूजले सगरमाथामाथि गरेको आधारहीन, रहस्यमय र कपोकल्पित ढंगको दाबीलाई अनेरास्ववियूले खारेज गरेको पनि उल्लेख छ।

‘नेपाली जनता स्वाभिमानविरूद्ध लगातार रूपमा विषवमन गर्दै आएको जी-न्यूजले आफ्ना कर्तुत उपर कुनै प्रायश्चित नगर्दै प्रधानमन्त्रीस्तरबाटै बालुवाटारको पटाङ्गिनीमा त्यसका प्रधान सम्पादकलाई नै रातो कार्पेट विछ्याएर स्वागत गरिएको परिघटनाले हामीलाई थप आशंकित र आक्रोशित तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै उनीहरूले जी-न्यूजलाई माफी माग्न भनेका छन्। ‘हामी चौधरी र उनको सञ्चार संस्थालाई यस खालको भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दछौं,’ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री ओलीलाई अनेरास्ववियूले स्वाधीनता र स्वाभिमानमा आँट पुर्‍याउने व्यक्ति र संस्थाहरूसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न पनि चेतावनी दिएको छ। चौधरीसँग भेटबारे प्रधानमन्त्री ओलीले तत्काल जनतालाई स्पष्ट पार्न पनि अनेरास्ववियूले माग गरेको छ।

‘आइन्दा त्यस्ता कूटनीतिक मर्यादाविपरीतका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरीतका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।