नेपालबाट शान्ति सेनामा १० हजार पठाउने तयारी, राष्ट्रसंघसँग भयो सम्झौता

  • Avatar
    admin

    February 21, 21 8:28 am

  • Comments

काठमाडौँ, ९ फागुन । नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ मिसनमा एक वर्षमा १० हजार सैनिक पठाउन सक्ने गरी आन्तरिक तयारी गरेको छ ।

Advertisement

यसका लागि सेनाले राष्ट्रसंघसँग सम्झौता गरिसकेको छ । सेनाका अनुसार सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा सेना खटाउने विश्वका विभिन्न मुलुकमध्ये नेपाल पहिलो नम्बरमा आउने छ । अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सैनिक खटिँदै आएका छन् ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले शान्ति मिसनमा एकैपटक १० हजार सुरक्षाकर्मी खटाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको जानकारी दिए । ‘अहिले शान्ति मिसनमा बर्सेनि पाँच हजार एक सय २९ सुरक्षाकर्मी खटिएका छन् । मिसनमा योगदान गर्ने मुलुकमध्ये अहिले नेपाल चौथो स्थानमा रहेको छ ।

अब यो संख्या १० हजारसम्म बढाउन सक्ने गरी नेपाली सेनाले तयारी गरिरहेको छ । यसका लागि युएनसँग सम्झौतासमेत भइसकेको छ । यदि यो सम्झौता पूर्ण तवरले कार्यान्वयनमा आए शान्ति मिसनमा योगदान गर्ने मुलुकमध्ये नेपालको स्थान पहिलो नम्बरमा आउँछ,’ उनले भने ।

राष्ट्रसंघसँगको सम्झौताअनुसार नेपाली सेनाले चार चरण पूरा गर्नुपर्नेछ । जसअन्तर्गत असिस्टेन्ट एडभाइजरी भिजिट (एएभी), मेमोरेन्डम अफ अन्डरस्ट्याडिङ (एमओयू), र्‍यापिड डेभलपमेन्ट लेभल (आरडिएल) लगायत पर्दछन् ।

सेनाले पहिलो चरणका लागि एक हजार पाँच सय ३० सैनिकलाई तयार गर्दै छ । तयार गरिएकामध्ये इन्फेन्ट्री बटालियन आठ सय ५०, फोर्स प्रोटेक्सन कम्पनी एक सय ६०, मिलिटरी पुलिस कम्पनी एक सय २०, क्विक रेस्पोन्स फोर्स कम्पनी दुई सय ५० र स्पेसल फोर्स कम्पनी १५० सैनिक छन् । जसमध्ये क्विक रेस्पोन्स फोर्स कम्पनीका दुई सय ५० सैनिकले लेभल फोर पास गरिसकेका छन् । उनीहरू अबको दुई महिनाभित्र शान्ति मिसनमा जानेछन् ।

त्यस्तै, इन्फेन्ट्री बटालियन, फोर्स प्रोटेक्सन कम्पनी र मिलिट्री प्रोटेक्सन कम्पनीका सैनिकले भने लेभल थ्री पास गरेका छन् । बाँकी सैनिकलाई पनि सोही तवरले तयार गर्दै लैजाने सेनाको योजना रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले जानकारी दिए ।

उनले भने, ‘सम्झौताअनुसार हामीले अहिले चार युनिटका १ हजार ५ सय ३० सैनिकलाई तयार गरिरहेका छौँ । त्यसमध्ये तीन युनिटले लेबल थ्री र एकले लेभल फोर पास गरिसकेका छन् ।’ ‘लेभल फोर पास गर्ने अबको केही महिनाभित्रै मिसनमा जानेछन् । यो सबिकको सैनिक संख्यामा हुने थप सैनिक संख्या हो । अन्य टोलीलाई पनि तयारी अवस्था राखेका छौँ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।