चितवनमा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु

  • Avatar
    admin

    May 7, 21 10:32 am

  • Comments

चितवन, २४ वैशाख । कोरोना भाइरस संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेकामध्ये शुक्रबार नौ जनाको निधन भएको छ ।

Advertisement

चितवनमा बिहीबार पनि ९ जनाकै निधन भएको थियो । त्यसअघि बुधबार १० जना संक्रमितको मृत्यु भएको थियो ।

चितवन स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार मृत्यु हुनेमा दुईजना चितवनकै रहेका छन् ।

भरतपुर अस्पतालमा २ जना रुपन्देही तथा चितवन र नवलपुरका १/१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी चितवन मेडिकल कलेजमा कैलाली र नेपालगञ्जका १/१ जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा रुपन्देहीका २ जना र चितवनका १ जना संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको संक्रमणमा पुष्टि भएकामध्ये हालसम्म चितवनका मात्रै १२९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वैशाख महिनायता चितवन जिल्लाका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।

चितवनमा शुक्रबार निको हुन बाँकी सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ ।

चितवनमा हालसम्म कुल संक्रमित ९ हजार ९० पुगेको छ । वैशाखयता मात्रै २ हजार ८० जना संक्रमित भएका छन् ।