कोरोना सङ्क्रमणका कारण कैलाली र कञ्चनपुरमा थप ७ जनाको मृत्यु

  • Avatar
    admin

    April 29, 21 9:42 am

  • Comments

धनगढी, १६ वैशाख । धनगढीको सेती प्रादेशीक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा ६ जना र होमआइसोलेसनमा एकजना गरी ७ कोरोना बिरामीको मृत्यु भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा सेतीमा तीनजना, महाकालीमा तीनजना र कैलालीको गोदावरीमा होम आइसोलेसनमा बसेका एकजना गरी सातजनाको मृत्यु भएको दुबै अस्पतालका सूचना अधिकारीले जनाएका छन ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसीयूमा उपचारत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

लम्कीचुहा ३ का ३३ वर्षका पुरुष वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । घोडाघोडी १० का ७० वर्षका पुरुषको भने अस्पताल भर्ना भएको १२ घण्टा नबित्नै मृत्यु भएको हो ।

उनलाई बैशाख १५ गते राती ११ बजे मात्रै सेतीको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए । दुबै जनाका कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

यस्तै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, भिमदत्त १८ कि ३६ वर्षीय एक महिलाको बिहीबार बिहान ७:३० बजे र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राति १२:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा।गोविन्द रोकायाले भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले दोस्रो भेरियन्टको कोरोना समुदाय स्तरमा तिब्र रुपमा फैलिन थालेका बताए ।

दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो ।