कोरोना भाइरसबाट अति प्रभावित भारतलाई विश्वभरिबाट सहयोग

  • Avatar
    admin

    April 26, 21 10:48 am

  • Comments

एजेन्सी, १३ वैशाख । कोभिड–१९ महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन्।

Advertisement

भारतमा अहिले सम्म कोरोनाको कारण १ लाख ९५ हाजार १ सय २३ जनाको मृत्यु भएको छ, भने १ करोड ७३ लाख १३ हजार भन्दा बढीलाई कोरोना पुष्टि भएको छ । १ करोड ४३ लाख संक्रमणमुक्त भएको छ ।
भारतमा अहिले २८ लाख १३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको छ ।

अमेरिका तथा यूकेको कस्तो सहयोग :
अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले खुल्ला गरिदिएको छ ।

“जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत गर्‍यो, अहिले हामी भारतलाई मद्दत गर्छौ ।” राष्ट्रपति जो बाइडनले भने।

भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो। आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ।अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ।

यूकेले पठाएका सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ। थप सहयोग यसै साता पुग्ने बताइएको छ।

यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्।

यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण ( जसले हावाबाट अक्सिजन तान्नसक्छ ( तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ।

“यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ ।” यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन्।

सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ। यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन्।

यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ। साथै युरोपेली युनियनले पनि अक्सिजन तथा ओषधी पठाउने भएको छ । पाकिस्तानले पनि भारतलाई सहयोग गर्न सक्ने बताएको छ ।