कालोपत्रेसँगै व्यापक उत्साह

  • Avatar
    admin

    January 12, 21 1:45 am

  • Comments

बागलुङ,  २८ पुस । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा आएको यो सुधारले यस क्षेत्रमा व्यापक उत्साह छाएको छ । अब आर्थिक विकासको बाटो खुल्ने स्थानीयमा विश्वास पलाएको छ ।

Advertisement

मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग १३७ किलोमिटर बागलुङ जिल्लामा पर्छ । यसले बागलुङका १० स्थानीय तहमध्ये सातवटालाई छुने र ठूलो जनसङ्ख्यालाई सुविधा पुग्ने भएकाले स्थानीयमा खुसी छाएको छ । साथै यो राजमार्गलाई जिल्लाकै महìवपूर्ण पूर्वाधार विकास आयोजना र समृद्धिको आधार मानिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय, पर्वतका प्रमुख मेघराज मरासिनीले बताउनुभयो ।

यस जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको १३७ किलोमिटरमध्ये ९२ किलोमिटर कालोपत्रे भइसकेको हो भने ४० किलोमिटर खण्ड भने चाँडै नै कालोपत्रे हुने मध्यपहाडी लोकमार्ग कार्यालय, पर्वतका उज्ज्वल शर्माले बताउनुभयो । बागलुङ नगरपालिका–१, मालढुङ्गादेखि उपल्लाचौरसम्मको पाँच किलोमिटर खण्डमा भने ठेक्का पनि लागेको छैन । यो क्षेत्रको अधिकांश भागमा कडा चट्टान छ ।

कालोपत्रे गर्ने तयारी भइरहेको ४० किलोमिटरमध्ये सदरमुकाम बागलुङ बजारको उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–५, घोडाबाँधेसम्मको २५ किलोमिटर र बुर्तिवाङ–पातीहाल्ने सडक खण्डको १५ किलोमिटर सडकमा कालोपत्रेको तयारी भइरहेको हो ।

बुर्तिवाङ–निसी खण्डमा भने कालोपत्रे गर्न थालिएको छ । राजमार्गको त्यस खण्डमा पहरो काट्ने, नाली निर्माण, कालोपत्रेका लागि क्रसर सञ्चालन, कालोपत्रे गर्ने सामग्रीको तयारी, सडक चौडा पार्ने तथा बेस निर्माणको काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।