कविता राईको उपन्यास ‘गुरु’ बुधबार लोकार्पण

`

     २०७८ चैत्र २४ गते ११:३५
  • 27
    Shares

काठमाडौँ, २४ चैत्र । कवि तथा साहित्यकार कविता राईको पहिलो उपन्यास ‘गुरू’ लोकार्पण गरिएको छ । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राईसहित समालोचक ज्ञानु अधिकारी, साहित्यकार हरिप्रसाद सिलवाल, कवि शशी लुमुम्बु, राष्ट्रिय सभा सदस्य जयन्ती राईलगायतले उपन्यास ‘गुरु’को लोकार्पण गरेका थिए ।

शिक्षण पेशामा रहेकी राईले उपन्यासमा एक शिक्षकको कथालाई केन्द्रमा राखेर समकालीन समाजको चित्रलाई उतारेकी छन् । राईले उज्यालो छर्नेहरुको कथामा टेकेर शिक्षण पेसाको महिमा, यसमा समाजले राखेको दृष्टिकोण, एक शिक्षकको भोगाई, राजनीतिले थिलथिलो पारेको समाज र शिक्षा, समकालीन नियतिलाई उतारेकी छन् ।

उपन्यास लोकार्पणपछि राईले आफूले ‘गुरू’ लेख्ने क्रममा हाँस्नै भुलेको बताइन् । उनले भनिन्, ‘यो उपन्यास लेख्दा साथीहरूसँग बसेर चिया पिउन भुलेँ, गीत गन्गुनाउँथेँ, त्यो पनि भुलेँ, समग्रमा त झनै हाँस्नै भुलेछु । हामी लेखकहरुलाई लेखक मात्रै हुने छुट नहुँदो रहेछ ।’

उक्त उपन्यासबारे बोल्दै साहित्यकार हरिप्रसाद सिलवालले गुरू नेपाली साहित्यिक क्षेत्रमा बेग्लै स्थान हासिल गर्नसक्ने उपन्यास भएको बताए ।

उपन्यासले अहिलेसम्म उठान नगरिएको विषय मार्मिक र रोचक ढंगले उठान गरेको समालोचक ज्ञानु अधिकारीले बताइन् ।

शिक्षण पेसासँगै साहित्य सिर्जनामा सक्रिय रहेकी राईले यसअघि ‘आमा र जून’कवितासंग्रह बजारमा ल्याइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?