कविता : खै, कसको गैरजिम्मेवारी ?

  • घनश्याम श्रेष्ठ

    June 14, 20 9:23 am

  • Comments

यहाँ,
खै किन, बुझ्न चाहँदैनन् कोही,
सोध्न खोज्दैनन् कोही,
न चासो छ कसैलाई,
किन उत्रिँदैछन् युवाहरु सडकहरूमा !
कैहिले भ्रष्टाचारको विषयमा
कहिले एमसिसी
कहिले लकडाउन
अनि कहिले भारतले मेचेकाे
नेपालीभूमिको विरोधमा !!

Advertisement

खै, कसको गैरजिम्मेवारी, किन ?
फैलिन्छन् यहाँ, बारम्बार बिकृतिहरु !
एकाएक मोडिँदैछन एक नाशले,
कोभिड–१९, विरुद्ध चालिएका कदमहरु !!

नौला नारा सहितका प्लेकार्डहरु बोकी,
देखिँदैछ, विरोधमा उर्लिरहेका ठूलै जन सागरहरु !
दिन गुणा, रात चौगुना गर्दै भरिन्दैछन सामाजिक संजालहरु
तैपनि, किन, चुपचाप अनि मौन छ राज्य संयन्त्रहरु !!

किन उत्रियो जनसागर ?
रहस्य त थाहा नै होला सबैलाई,
कस्तो चरम सीमामा पुगेछ भष्टाचार !
न त सम्बोधन, न त कुनै अभिव्यक्ति,
तैपनि,
यस्तो संकटको बेला
जिमखाना अनि रेड कार्पेटमै कस्तो आशक्ति ?

advertisement

भोकभोकै मर्न लागिसके जनता,
खै, कता हराई सकेछ मानवता ?
समस्यादेखि भाग्दै लकडाउनको अवधिमात्र थप्दा,
चरम सिमामा पुग्यो, सरकारी ज्यादतीको पराकाष्ठा !!
सुनिँदैछ, क्वारेन्टाइनमा मान्छे मर्दैछ रे,
यस्तोबीच सरकार, विलासिताका सामान जोड्दै छ रे !
जनता लकडाउनमा अल्झिरहँदा
कर छुट, भन्नु त परै जावोस्
उल्टै, करको निम्ति
मानवता बिर्सेर करकर गर्दैछन रे !!

लकडाउन चल्या छ
कोरोनाको कहर बढ्या छ
भन्न पनि लाज लाग्छ, के चल्दै छ ?
यहाँ आफ्नो दैनिक यस्तै ढल्दै छ !
आफ्नै छिमेकीको घर पनि धेरै टाढो भाे हिजोआज
के गर्नु ? कोरोनालाई झुक्याउन घर भित्रै बस्नु बाध्यता बन्या छ !!

कति हेरौँ टिभी, कति खेलाऊ मोबाइल
जति हेर्‍यो, त्यति डर लाग्ने
कोरोनाको बाहेक कुरै चलेको छैन !
लाग्छ के होला अब ?
कोरोनाको कहर, सकिएपछि…
यो, हल्लै हल्लाको देश हो साथी
यहाँ, भ्रष्टाचारको आन्दोलन सकिएकै छैन !!

कोहि भन्छन,धेरै भयो
संसद भवनमा हिही र हाहा
वाह रे सरकार !
७० दिन मै, कसरी गर्यौ १० अर्ब स्वाहा’?
सहनुको सिमा नाघ्यो, टुट्यो धैर्यको बाँध पनि
बढ्यो अनियमितता र भष्टाचार देशमा
लाग्छ देशव्यापी आन्दोलन, शुरु भयो अनि !!