कविता : किसान बन्ने रहर

  • खगेन्द्र दाहाल

    June 14, 20 12:27 pm

  • Comments

विदेश जाने मन छैन मेरो
बसेर खाने धन छैन मेरो
इच्छा छ मेरो कृषि क्रान्ति गर्ने
बाँझो धरामा बिरुवा उमार्ने ।

Advertisement

म सीप रोप्नेछु पसिना बगाई
म दाउ छोप्नेछु दुनियाँ जगाई
पन्छी परेवा सय जोर पाल्छु
बाख्रा र भेडा दश खोर पाल्छु ।।

पाखा पखेराभरि घाँस रोप्छु
बारी बिरौटातिर बाँस रोप्छु
गाई र भैँसी गतिला म पाल्छु
उठेर चाँडै मलमूत्र फाल्छु ।

पहाड भित्तो पहिरो म खोप्छु
चिया अलैँची अदुवा म रोप्छु
कोदो मकै धान फलाउनेछु
अभाव खाद्यान्न हटाउनेछु ।।

कमाइ पैसा म रमाउनेछु
पाटी पँधेरा म बनाउनेछु
बाँचेर आफू निमुखा म पाल्छु
समाज सेवा पनि गर्न थाल्छु ।

किसानलाई सुरदेव मान्छु
झुकेर जैल्यै म प्रणाम गर्छु
पिएर पानी दिल प्यास मेट्छु
पेसा यसैमा सुख शान्ति भेट्छु ।।