November 25, 20 1:35 pm
काठमाडौं, १० मंसिर । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । कप्तान ज्ञानेन्द्रले फेसबुक मार्फत आफूमा संक्रमण देखिएको जानकारी दिएका छन् ।
मंगलबार बन्द प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्य १६ खेलाडीको पिसिआर परिक्षण भएको थियो । मंगलबार पिसिआर परिक्षण भएका १६ खेलाडीको रिपोर्ट नेपाल क्रिकेट संघ(क्यान) ले भने गोप्य राखेको छ ।
मंगलबार क्यानले टीयू क्रिकेट मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।
जसमा सबैको रिपोर्ट क्यानले बताएको छैन । मंगलबार भएको पिसिआर परिक्षणमा शरदसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । ज्ञानेन्द्रमा कोरोना संक्रमण देखिएसँगै बिहिबार देखि सुरु हुने भनिएको प्रशिक्षण अनिश्चित बनेको छ ।